म रामबहादुर
April 16, 2021

मलाई नचिन्ने को होला र! पेशाले म प्रोफेसर, ठुलो प्रोफेसर। येति ठुलो प्रोफेसर कि म मेरो पेशा अध्यापन हो कि सभा कर्यक्रममा उपस्थित भैदिएर २० वर्षदेखि भन्दै आएको दुई चार शब्द बोलिदिएर ताली खाने मात्र हो, कहिलेकाहिँ झुक्किन्छु। जे होस्, म प्रोफेसर रामबहादुर।

म जत्ति जान्ने त सायदै होलान् कोही। अल्बर्ट् आइन्सटाइन र स्टिफन हकिङ् थिए, मरिहाले। हुन त उनीहरुले नि के नै पो गरे र, फर्मुला त दिए नि। मैले जस्तो ठुलो प्रोजेक्ट गरेनन् केरे। यति ठुलो प्रोजेक्ट कि, आज केही दशक पछडि पनि मैले कक्ष्यामा त्यसकै नाम लिए मात्र पुग्छ, पढाउनु पर्दैन। साँच्ची भनेको, पढाउनै पर्दैन! "बुझ्यौ होइन?" भन्दा सबले बुझेकै हुन्छन्। कोहीकोही नबुझ्नेहरुलाई त मैले अबदेखि सबै बुझ्नेगरि घोचेर भन्दिहाल्छु। नबुझ्ने त कुरै हुन्न नि, मैले विदेशबाट पि.एच्.डी जो गरेको छु। म रामबहादुर .. ए हैन डा. रामबहादुर। हत्तेरि "प्रोफेसर" छुटेछ फेरि!!

म ठुलो मान्छे। यति ठुलो कि कहिलेकाहिँ लाग्छ रामबहादुर मेरो थर हो, अनि नाम चाहिँ "प्रोफेसर डा."। मलाई रामबहादुर मात्र भन्नेलाई त म मुन्छे नै भन्दिन। "डा." सम्म भन्ने मुन्छे भए पनि अपराधि नै हो। कुनै कागजपत्रमा मेरो नाम लेख्दा "प्रोफेसर डा." छुटाउने त मुर्ख हो। त्यस्त मुर्खलाई म कि त थोरै नम्बर दिन्छु, कि त पछि विदेश जाने बेला "रिकमेन्डेसन" दिन्न। म मान्छु, हरेक विद्यार्थीको पहिलो कर्तव्य भनेको मलाई "हजुर सर, नमस्कर सर!" भनेरै सम्मान गर्नु हो। म प्रोफेसर डा. रामबहादुर। मलाई नमस्कारको भोक लागेको लागेइ गर्छ।

म कहिलेकाहिँ पढाउन त जान्छु। तर कहिले पनि पुरै बेर पढाउदिँन। विभागले दुई घन्टाको लेक्चर राखेको छ। कति हाँस्नु हो! ४५ मिनेट त अहिलेसम्म कटेकै छैन। अस्ति १ घन्टा पुग्न लागेको थियो, लौन के गरम् कसो गरम् भको थ्यो। हैट्, कसरी बिताएँ होला मैले त्यो बढि भको १५ मिनेट! अनि, पुरै पढाएँ भने त म ठुलो व्यस्त मान्छे नै भैन नि। मेरो त फेरि पढाउने तरिकै निकै इफेक्टिभ छ : मेरा स्लाइडहरुमा बुँदाहरु हुन्छन्, जसलाई म हुबहु वाचन गर्दिन्छु। बिरलै त्यो भन्दा बढि बोल्नपर्छ। अझ कहिलेकाहिँ त एउटा शब्दलाई अर्को भन्दो रहेछु, फेरि त्रुटी मिलाउन अल्छी लागेर त्यत्तिकै अगाडि बढ्छु। अनि लास्टमा "बुझ्यौ हैन?" भनेर सोध्दा सबैले बुझेकै हुन्छन्। अब येति त म आधा घन्टामै सक्दिन्छु। के खान दुई घन्टा राखेको होला!

मलाई मेरा विद्यार्थीहरुले मबाट के के सिके भन्द पनि मलाई कहाँ कतिचोटी नमस्कार गरे भन्ने कुरा महत्वपुर्ण लाग्छ। वर्षेनी मेरा विद्यार्थीहरु नेपालको उच्च शिक्ष्या विकल्पलाई लात मारेर बहिर पढ्न गएको कुनै मतलब लाग्दैन। अझ, मसँग रिकमेन्डेसन माग्न आए भने त म धन्य नै हुन्छु। त्यसमाथि कोहीकोहीलाई त "तिमीलाई चिन्दिन, मेरो फुर्सद छैन" भनेर फर्काउन पाउँदा म आफुलाई भगवान सरह नै ठान्दछु। ओहो, कति राम्रो म; कति महान म। म ठुलो मान्छे रामबहादुर।

यति ठुलो की मेरो बारेमा त बायोग्रफी नै लेखिनु पर्ने, एउटा चलचित्र नै बन्नुपर्ने। केहि नभए पनि एउटा कथा त लेखिनै पर्ने हो मेरो महानताको बारेम। हुन त मेरा कोही विद्यार्थीहरुले लेख्दै पनि होलान्!

म ठुलो प्रोफेसर रामबहादुर।

[Friday, April 16 2021, Patan Dhoka]